नारायणी नदी किनारमा बाढीले बगाएका ५४ शव र २५ अंग फेला, लुम्बिनीमा १६८ जना अझै बेपत्ता
१४ भदाै,दाङ । नवलपरासी पश्चिमको नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा बाढीले बगाएर ल्याएका ५४ वटा शव र शरीरका २५ वटा अंग फेला परेका छन्।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेशअन्तर्गतको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार भदौ १३ गते राति १० बजेसम्म ती शव तथा अंग फेला परेका हुन्। मन्त्रालयका अनुसार भदौ ११ गते २७ वटा शव र शरीरको एक अंग फेला परेको थियो।
ती शवमध्ये आठ महिला, १६ पुरुष, एक बालक र दुई बालिकाका रहेका छन्। भदौ १२ गते थप सात वटा शव र १२ वटा शरीरका अंग फेला परेका थिए। त्यस्तै, भदौ १३ गते मात्रै २० वटा शव र १५ वटा शरीरका अंग फेला परेका छन्। तीमध्ये पाँच महिला, १३ पुरुष, एक बालक र एक बालिकाका शव रहेका छन्। बाढी तथा अन्य विपद्का कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अझै १६८ जना सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।
जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै दाङका ४१ जना सम्पर्कविहीन छन्। रुपन्देहीका ३५, बाँकेका २०, रुकुम पूर्वका १६, रोल्पाका १४, पाल्पाका ११, प्युठानका १०, अर्घाखाँचीका नौ, बर्दियाका आठ, गुल्मीका सात, नवलपरासी पश्चिमका छ र कपिलवस्तुका चार जना सम्पर्कमा आउन सकेका छैनन्।
यसैबीच, हालसम्म १३ जना सम्पर्कमा आएका छन्। जसमा रुपन्देहीका छ, दाङका पाँच, बाँकेका एक र प्युठानका एक जना रहेका छन्। विभिन्न स्थानमा फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंगहरू अस्पतालका शवगृहमा सुरक्षित राखिएको छ। उनीहरूको पहिचान खुलाउन आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0