कुमार बेनविरुद्ध माइतीघरमा जेनजीको ‘ट्रान्सपरेन्सी मार्च’
४ मंसिर,काठमाडौं । विचौलिया इनम सापकोटाको मोबाइल फोन अनधिकृत रूपमा नियन्त्रणमा राखिएको र डिजिटल प्रमाण मेटाइएको आरोपको विरोधमा जेनजी समूहले शुक्रबार काठमाडौंको माइतीघरमा ‘ट्रान्सपरेन्सी मार्च’ आयोजना गरेको छ ।
‘द रेड च्याप्टर’, ‘जेनजी मुभमेन्ट नेपाल’ र ‘अल जेनजी ग्रुप्स’को संयुक्त आयोजनामा भएको मार्चमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र साहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनविरुद्ध नाराबाजी गरेका थिए ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । सापकोटा पक्राउ परेपछि प्रहरीले बरामद गरेका उनका दुईवटा मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि बेनको निवासमा दुई दिनसम्म राखिएको समाचार सार्वजनिक भएको थियो ।
त्यस अवधिमा मोबाइलमा सामाजिक सञ्जाल चलाइएको र केही सन्देश मेटाइएको फरेन्सिक परीक्षणबाट देखिएको दाबी सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको हो ।
यसअघि जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले डिजिटल प्रमाण नष्ट गरेको आरोप लगाउँदै कुमार ब्यञ्जनकारविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
मोबाइल फोन नियन्त्रणमा राखिएको र डिजिटल प्रमाण मेटिएको भनिएको घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने मागसहित जेनजी समूहले प्रदर्शन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0