हेटौँडामा प्रहरी सहायक हवल्दार झुन्डिएको अवस्थामा मृत फेला
ईर्साद अन्सारी
२४ कातिक,हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोलका स्थायी बासिन्दा करिब ३५/३६ वर्षीय गुरुङ हाल लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मंगलबार बिहान करिब ४ः३० बजे ओमनगर गेट अगाडि रहेको एक घरनजिकैको जस्ताको ट्रसमा उनी मृत अवस्थामा फेला परेका हुन्।
बिहान मर्निङ वाकमा निस्किएका एक व्यक्तिले गुरुङलाई झुन्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको छ। तर, उक्त नोटमा के उल्लेख गरिएको छ भन्नेबारे प्रहरीले खुलाएको छैन।
गुरुङको मृत्युको कारण र घटनासँग सम्बन्धित अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0