हुलाकको पार्सलमा थाई गाँजा, १ किलो ९१० ग्रामसहित चार जना पक्राउ

Sep 4, 2026 - 18:21
 0  3
हुलाकको पार्सलमा थाई गाँजा, १ किलो ९१० ग्रामसहित चार जना पक्राउ

१९ भदाै,काठमाडौं । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजा बरामद भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले गत भदौ ९ गते थाइल्याण्डबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै इटहरी पठाइएको पार्सल शंका लागेर जाँच गर्दा ९१० ग्राम थाई गाँजा बरामद गरेको थियो।

पार्सल रिसिभ गर्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीले ‘कन्ट्रोल डेलिभरी’मार्फत पार्सल पठाएको थियो। सोही क्रममा भदौ १६ गते पार्सल बुझेर लैजाँदै गरेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–२० की १९ वर्षीया जेसिका तामाङ र धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ की २५ वर्षीया तारा मगर रहेका छन्।

 उनीहरूको धरान–१५ मिलनपथस्थित डेरामा खानतलासी गर्दा थप १ किलो थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यससँगै बरामद लागूऔषधको कुल परिमाण १ किलो ९१० ग्राम पुगेको छ।

घटनाबारे अनुसन्धान भइरहेका बेला उक्त गाँजा लिन आएका दुई भारतीय नागरिकलाई समेत भदौ १९ गते धरान उपमहानगरपालिका–८ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

 पक्राउ पर्ने भारतीय नागरिकमा भारतको केरल, कन्नोरका २४ वर्षीय सारोन सुनिल तिया र केरल, आलपुरका २२ वर्षीय अमल आर रहेका छन्। प्रहरीका अनुसार उनीहरूबाट लागूऔषध थाई गाँजा १ किलो ९१० ग्राम र चार थान मोबाइल बरामद भएको छ।

पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय धरान, सुनसरी र लागूऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0