दीपेन्द्र ऐरीको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
११ कातिक,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ ।
दीपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिमले बुधबार पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा आफ्नो पहिलो सफलता हात पारेको छ ।
सुदूरपश्चिमको जितमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५१ रन बनाए । ३६ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे । ईशान पाण्डेले ३७ रन जोड्दा ब्रान्डन म्याकमुलनले २२ र सैफ जइबले १५ रनको योगदान दिए ।
पोखराका मेहदी हसन, धनन्जय लक्षण र शकिब अल हसनले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
पोखराका अर्जुन घर्तीले अविजित ४० रन बनाए । २५ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । मेहदी हसनले ३२ तथा कुशल भुर्तेलले २१ रन जोडे । शकिब अल हसनले १४ र धनन्जय लक्षणले ११ रन बनाए ।
सुदूरपश्चिमका बलरमध्ये अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्लेइनले एक–एक विकेट हात पारे ।
यसअघि आफ्नो पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो । पोखराका लागि भने प्रतियोगितामा यो पहिलो हार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0