एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त, विराटनगर–चितवन र जनकपुर–कर्णाली आमनेसामने
१० कातिक,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन्।
पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्दा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हुनेछ। अघिल्ला संस्करणको नतिजा र टोलीहरूको उतारचढावलाई हेर्दा आजका दुवै खेल रोचक बन्ने अपेक्षा गरिएको छ।
विराटनगर र चितवनबीच हिसाब बराबर गर्ने अवसर दिनको पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। अघिल्ला दुई संस्करणमा यी टोलीबीच भएका खेलमा दुवैले एक–एक जित निकालेका छन्।
पहिलो संस्करणमा विराटनगरले चितवनलाई ५१ रनले हराएको थियो। दोस्रो संस्करणमा भने चितवनले ४८ रनको जित निकाल्दै हिसाब बराबर गरेको थियो। यसपटक दुवै टोली एकअर्कामाथि दबाब सिर्जना गर्दै प्रतिस्पर्धामा आफ्नो वर्चस्व स्थापित गर्ने लक्ष्यमा हुनेछन्।
पहिलो संस्करणमा चितवन अन्तिम चारमा पुगेको थियो भने दोस्रो संस्करणमा विराटनगरले प्लेअफसम्मको यात्रा तय गरेको थियो। त्यसैले यसपटकको भिडन्त दुवै टोलीका लागि आफ्नो क्षमता प्रमाणित गर्ने अवसरसमेत हुनेछ।
जनकपुरलाई पुनरागमनको चुनौती, कर्णालीलाई सुधारिएको प्रदर्शनको दबाब मंगलबारको दोस्रो खेलमा पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सले कर्णाली याक्सको सामना गर्नेछ।
पहिलो संस्करणमा च्याम्पियन बनेको जनकपुर दोस्रो संस्करणमा भने अंकतालिकाको पुछारमा पुगेको थियो। त्यसैले यसपटक टोली पुरानो लयमा फर्कने र आफ्नो प्रतिष्ठा जोगाउने लक्ष्यसहित मैदानमा उत्रनेछ। अर्कोतर्फ, कर्णाली याक्स पनि अघिल्लो संस्करणको कमजोर प्रदर्शन बिर्साउँदै सुधारिएको खेल देखाउन चाहन्छ।
पहिलो संस्करणमा रनरेटका आधारमा काठमाडौं गोर्खाजलाई पछि पार्दै शीर्ष चारमा पुगेको कर्णालीले दोस्रो संस्करणमा भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको थिएन। आजका दुवै खेलमा टोलीहरूको विगतको प्रदर्शनभन्दा वर्तमान लय, खेलाडीहरूको प्रदर्शन र दबाबमा लिने निर्णयले नतिजा निर्धारण गर्न सक्छ।
विराटनगर–चितवनको प्रतिस्पर्धाले पुरानो हिसाबको टुंगो लगाउने अवसर दिनेछ भने जनकपुर–कर्णालीको भिडन्तले कुन टोली पुनरागमनको बाटोमा अघि बढ्छ भन्ने संकेत दिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0