सिन्धुलीमा हवाई फायर गरेर ९० ग्रामभन्दा बढी खैरो हेरोइनसहित युवक पक्राउ
१६ कात्तिक,बारा । सिन्धुलीमा प्रहरीले एक राउण्ड हवाई फायर गरेर ९०.१६० ग्राम खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले सोमबार सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ निवासी २९ वर्षीय मन्जित योन्जन रहेका छन्। भारतको जयनगरबाट सिराहाको माडर नाका हुँदै काठमाडौं उपत्यकासम्म लागूऔषध लगेर सिन्धुपाल्चोक, रामेछाप र दोलखाका सहरी क्षेत्रमा बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।
सोही क्रममा मोटरसाइकलमा गईरहेका योन्जनलाई शंका लागेर जाँच गर्न खोज्दा उनी मोटरसाइकल छाडेर भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिएको जनाएको छ।
उनको साथबाट ९०.१६० ग्राम खैरो हेरोइन, प्रदेश ३–०२–००१ प १६२२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
पक्राउ परेका योन्जनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा बुझाइएको ब्यूरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0