धरानमा दुई स्कार्पियोबाट २१० किलो गाँजा बरामद, हवाई फायर गरेर पाँच जना पक्राउ
१बारा । सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सोमबार बिहान करिब ३ बजे बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका दुईवटा स्कार्पियोमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। सो क्रममा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा गाडीमा लोड गरिरहेको अवस्थामा फेला परेको हो।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, सप्तरीकै राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन्। पक्राउ परेका यादव बा.१ च ५०३८ र शाह को.१ च ८१८२ नम्बरको स्कार्पियोका चालक रहेको प्रहरीले जनाएको छ।
बरामद गाँजा र पक्राउ परेका पाँचै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0