अमित शाहविरुद्धको टिप्पणीसम्बन्धी मानहानि मुद्दामा राहुल गान्धीले पाए सफाइ
९ कातिक,काठमाण्डाै । भारतको उत्तर प्रदेशस्थित सुल्तानपुरको विशेष अदालतले कङ्ग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीलाई केन्द्रीय गृहमन्त्री अमित शाहविरुद्ध गरिएको भनिएको आपत्तिजनक टिप्पणीसम्बन्धी मानहानि मुद्दामा सफाइ दिएको छ।
सोमबार अदालतमा उपस्थित राहुल गान्धीको मुद्दामा अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट शुभम वर्माले फैसला सुनाएका हुन्। अदालतले गान्धीको टिप्पणी मानहानिजनक प्रकृतिको नभएको ठहर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यो मुद्दा सन् २०१८ मा कर्नाटक विधानसभा निर्वाचनको प्रचारका क्रममा गान्धीले तत्कालीन भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहबारे दिएको अभिव्यक्तिसँग सम्बन्धित छ।
गान्धीले शाहलाई एक हत्या मुद्दाका आरोपितका रूपमा उल्लेख गरेको भन्दै भाजपा नेता विजय मिश्रले सन् २०१८ अगस्ट ४ मा मानहानिको उजुरी दिएका थिए। उक्त उजुरीपछि लामो समयसम्म अदालतमा मुद्दाको सुनुवाइ चलेको थियो।
अदालतले गान्धीलाई सन् २०२३ मा उपस्थित हुन आदेश दिएको थियो। उनी सन् २०२४ फेब्रुअरीमा अदालतमा उपस्थित भएपछि धरौटीमा रिहा भएका थिए।
मुद्दाको सुनुवाइका क्रममा उजुरीकर्ताले गान्धीको आवाजको नमुना परीक्षण गर्न माग गरेका थिए। तर उक्त माग अदालतबाट अस्वीकृत भएको थियो। त्यसपछि पनि कानुनी प्रक्रिया अघि बढ्दै आएकोमा सोमबार अदालतले गान्धीलाई सफाइ दिएको हो।
अदालतको फैसलापछि कङ्ग्रेस नेता तथा कार्यकर्ताले खुसी व्यक्त गरेका छन्। यो फैसला सन् २०१८ मा सुरु भएको मानहानि मुद्दाको महत्वपूर्ण कानुनी निष्कर्षका रूपमा हेरिएको छ।फाेटाे-पिटिआई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0