रसुवामा सुरुङ उद्धारका लागि चीनबाट विशेषज्ञ टोलीसहित हेलिकप्टर आइपुग्यो
१३ भदाै,काठमाडौं । भदौ १० गते बुधबार बिहान आएको भीषण बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नेपाली तथा विदेशी इन्जिनियर, प्राविधिक र कामदारको उद्धारका लागि छिमेकी चीनले विशेषज्ञ टोलीसहित हेलिकप्टर नेपाल पठाएको छ।
चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धारसम्बन्धी चार जना विज्ञसहितको टोली सवार हेलिकप्टर प्रभावित क्षेत्रमा सीधै पुगेको हो। समय बचत गर्दै उद्धार कार्यलाई उच्च प्राथमिकता दिँदै हेलिकप्टर केरुङतर्फबाट सीधै प्रभावित विद्युत्गृहमा अवतरण गरिएको जनाइएको छ।
बाढीपछि सुरुङभित्र फसेकाहरूको उद्धार चुनौतीपूर्ण बनेपछि नेपालले छिमेकी मुलुकहरूसँग सहयोगको आग्रह गरेको थियो। त्यसक्रममा चीनले सुरुङ उद्धारमा विशेषज्ञता हासिल गरेका जनमुक्ति सेनाका विज्ञसहितको टोली पठाएको हो।
यसअघि शुक्रबार राति भारतले पनि सुरुङ उद्धारमा दक्ष टोलीसहित राहत सामग्री नेपाल पठाएको थियो। भारतीय उद्धार टोलीसमेत अहिले प्रभावित क्षेत्रमा परिचालित रहेको जनाइएको छ।
चीन र भारतबाट आएका विशेषज्ञ टोलीसँग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोलीले समन्वय तथा सहकार्य गरिरहेका छन्।
सुरुङभित्रको जोखिमपूर्ण अवस्था, पानीको बहाव र संरचनाको अवस्थालाई मूल्यांकन गर्दै उद्धार कार्य अघि बढाइएको छ। रसुवामा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ भने सुरुङ तथा विद्युत्गृहमा कार्यरत केही नेपाली र विदेशी प्राविधिक तथा कामदार सम्पर्कविहीन बनेका छन्। उनीहरूको सकुशल उद्धारका लागि नेपाली सुरक्षा निकाय र विदेशी विशेषज्ञ टोलीले संयुक्त रूपमा प्रयास गरिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0