यात्रा गर्नुअघि जान्नुहोस् : यी राजमार्ग खुले, यी सडकखण्ड अझै बन्द
४ असाेज,काठमाडौं । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन् ।
केही सडकखण्ड भने एकतर्फी तथा निश्चित समयमा मात्र सञ्चालनमा आएका छन् । काभ्रेको बीपी राजमार्गमा खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
प्रहरीले १० टनसम्मका मालवाहक सवारी साधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिने र बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको अवस्था हेरी अन्य सवारी साधनसमेत सञ्चालन गर्न सकिने जनाएको छ ।
धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा पहिरोका कारण अवरोध भएकोमा हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सोही राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको शितलबजार क्षेत्रमा पनि एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
नुवाकोटको पासाङ ल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ । त्यस्तै, शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
रसुवामा बाढी तथा पहिरोको जोखिमका कारण मुख्य राजमार्गका विभिन्न स्थानमा अवरोध रहेको प्रहरीले जनाएको छ । यसैगरी संखुवासभाको मकालु गाउँपालिका–४ नेता भीरमा पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
नेपाल प्रहरीले सडकको अवस्था परिवर्तन हुन सक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित सडकखण्डको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । यात्रु तथा चालकले यात्रा सुरु गर्नुअघि आफ्नो रुटमा सडक खुलेको वा बन्द रहेको अवस्था जानकारी लिएर मात्रै यात्रा गर्नु उचित हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0