म्याग्दीमा पहिरोको कहर : ६ जनाको शव फेला, तीन जना अझै बेपत्ता

Sep 27, 2026 - 22:11
 0  2
म्याग्दीमा पहिरोको कहर : ६ जनाको शव फेला, तीन जना अझै बेपत्ता

११ असाेज,म्याग्दी । अविरल वर्षासँगै आएको पहिरोका कारण म्याग्दीका विभिन्न स्थानमा जनधनको क्षति भएको छ।

 जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ भने तीन जना अझै बेपत्ता छन्। असोज ८ गतेदेखि निरन्तर परेको वर्षाका कारण अन्नपूर्ण गाउँपालिका र मालिका गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको हो।

 स्थानीयवासी र प्रहरीको सहयोगमा पहिरोमा पुरिएका व्यक्तिको खोजी तथा उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका १९ वर्षीय सविन गर्बुजा, अन्नपूर्ण–३ फगामकी ५४ वर्षीया योमाया पाइजा र ७५ वर्षीया शिलकुमारी गर्बुजाको शव फेला परेको छ। यस्तै, मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन र २८ वर्षीय देवबहादुर पुन तथा अन्नपूर्ण गाउँपालिका–६ गिवाङकी ५ वर्षीया जेनी पुर्जाको पनि शव फेला परेको प्रहरीले जनाएको छ।

पहिरोमा परी अन्नपूर्ण–६ गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण–८ काफलडाँडाका मनोज गर्बुजा र बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी २१ वर्षीया कुमारी विक बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ। विभिन्न स्थानमा प्रहरी परिचालन गरी थप उद्धार तथा राहत वितरणको काम भइरहेको प्रहरीले जनाएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लगातारको वर्षाका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर यातायात पूर्ण रूपमा ठप्प भएको छ। सडक खुलाउन सम्बन्धित निकायबाट प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0