मुख्य राजमार्ग कहाँ बन्द, कहाँ खुला ? यात्रा गर्नुअघि जानकारी लिन प्रहरीको आग्रह
७ असाेज,काठमाडौं । बाढी, पहिरो तथा सम्भावित जोखिमका कारण विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीले बुधबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न सडकखण्डमा सवारी आवागमन बन्द तथा आंशिक रूपमा सञ्चालनमा रहेको जनाएको छ।
काभ्रेमा बीपी राजमार्ग अवरुद्ध काभ्रेमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्ड २०८३ भदौ १६ गतेदेखि अर्को सूचना नभएसम्म प्रभावित रहने जनाइएको छ।
बीपी राजमार्गमा भने १० टनसम्मका मालबाहक सवारी साधन राति ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको अवस्था हेरी अन्य सवारी साधनसमेत सञ्चालन गरिने जनाइएको छ। रसुवामा मुख्य राजमार्ग पूर्ण अवरुद्ध रसुवामा बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
भदौ १० गते बिहान १०ः३० बजेदेखि अवरुद्ध भएको सडक अर्को सूचना नभएसम्म सञ्चालनमा आउन नसकेको हो। नुवाकोटमा दुई सडकखण्ड प्रभावित नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, विदुर नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। धादिङमा पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा पहिरोका कारण प्रभावित पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।
त्यस्तै, बेनीघाट रोराङ गाउँपालिकाको शीतलबजार क्षेत्रमा पनि पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। प्रहरीले सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुनसक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0