भारी वर्षापछि देशभरका प्रमुख सडक प्रभावित, धादिङ–काभ्रेमा राति सवारी रोक
८ असाेज,काठमाडौं । भारी वर्षा र बाढी–पहिरोको सम्भावित जोखिमका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।
नेपाल प्रहरीले बिहीबार बिहान ८ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण तथा केही एकतर्फी अवरुद्ध रहेको जनाएको छ। प्रहरीका अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ दौतेखोलास्थित मध्यपहाडी लोकमार्ग पहिरोका कारण एकतर्फी रूपमा सञ्चालनमा छ।
काभ्रेमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी सञ्चालनको समय तोकिएको छ। खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा अत्यावश्यकबाहेकका सवारी साधनको सञ्चालनमा समयअनुसार रोक लगाइएको छ।
राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइने र बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म निजी तथा सार्वजनिक यात्रुवाहक सवारी सञ्चालन हुने व्यवस्था गरिएको प्रहरीले जनाएको छ। नुवाकोटमा सम्भावित बाढी–पहिरोका कारण शिवपुरी गाउँपालिका–८ घट्टेखोला र टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
विदुर नगरपालिका–१० सिमटारस्थित पासाङल्हामु सडकखण्ड भने बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। रसुवामा बाढीका कारण मुख्य राजमार्गको अवस्था प्रभावित भएको प्रहरीले जनाएको छ। धादिङमा बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा पहिरोका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ।
बेनीघाट रोराङ–७ कृष्णभीर क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ। मकवानपुरमा सम्भावित पहिरोको जोखिमलाई ध्यानमा राख्दै कान्तिराजमार्गअन्तर्गत भैँसे–भीमफेदी–देउराली–कुलेखानी–काठमाडौं सडकखण्डमा राति सवारी सञ्चालन पूर्ण रूपमा रोक लगाइएको छ।
यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङग्रेखोलानजिक सालझण्डी–ढोरपाटन सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ डामसाइटमा पहिरोका कारण सिद्धार्थ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले भारी वर्षाको पूर्वानुमान रहेकाले सडकमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन तथा सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0