भारतीय गाडीमा पेस्तोल र एसएलआरको गोली, वीरगन्जका सुरक्षा चेकपोस्टमाथि प्रश्न

Sep 17, 2026 - 05:49
 0  4
भारतीय गाडीमा पेस्तोल र एसएलआरको गोली, वीरगन्जका सुरक्षा चेकपोस्टमाथि प्रश्न

१ असाेज,बारा  । वीरगन्ज महानगरपालिका–१५ स्थित वास्तु बिहार चोक नजिक रोकिराखिएको भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र एसएलआरको ६ राउन्ड गोली बरामद भएपछि वीरगन्जको सुरक्षा निगरानीमाथि प्रश्न उठेको छ।

बुधबार साँझ सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रोकिराखिएको भारतीय नम्बर प्लेटको कार जाँच गर्दा हतियार र गोली बरामद गरेको हो।

कारबाट दुई थान सिक्सर पेस्तोल, दुई थान कटुवा पेस्तोल र एसएलआरको ६ राउन्ड गोली फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। घटनापछि सबैभन्दा गम्भीर प्रश्न भनेको उक्त भारतीय नम्बर प्लेटको गाडी वीरगन्ज–रक्सौल नाका हुँदै नेपाल प्रवेश गरेको हो वा अन्य कुनै नाकाबाट आएको हो भन्ने विषयमा उठेको छ।

गाडी नेपाल प्रवेश गर्दा सीमा क्षेत्रमा हुने सुरक्षा जाँच कसरी पार गर्‍यो भन्नेबारे पनि अनुसन्धान आवश्यक देखिएको छ। वीरगन्ज–रक्सौल मुख्य नाकासहित सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका सुरक्षा संयन्त्र र चेकपोस्टहरू रहेका अवस्थामा हतियार बोकेको भारतीय गाडी वीरगन्जसम्म आइपुग्नुले सुरक्षा निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

 यद्यपि, कुन चेकपोस्ट वा सुरक्षा निकायको तहमा कमजोरी भयो भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन। बरामद हतियार तथा गोलीसहित कार नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ। अब प्रहरीले गाडीको नम्बर, चालक तथा सम्भावित यात्रु, नेपाल प्रवेश गरेको नाका, प्रवेशको समय र त्यसक्रममा भएको सुरक्षा जाँचलगायत विषय अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिन्छ।

त्यस्तै, बरामद भएका हतियार कहाँबाट ल्याइएका हुन्, कसलाई पुर्‍याउन लागिएको थियो र कारभित्र ती हतियार कसले राखेको थियो भन्ने विषय पनि अनुसन्धानको महत्वपूर्ण पाटो बनेको छ। सशस्त्र प्रहरीले भने उक्त कार कसले र किन त्यहाँ रोकिराखेको थियो तथा हतियार र गोली कसले र कुन प्रयोजनका लागि ल्याएको हो भन्नेबारे हालसम्म केही खुलाएको छैन।

 अब अनुसन्धानबाट भारतीय नम्बर प्लेटको उक्त गाडी नेपाल कुन नाकाबाट प्रवेश गर्‍यो, सीमा क्षेत्रमा कसरी सुरक्षा जाँच पार गर्‍यो र वीरगन्जसम्म हतियारसहित पुग्दा सुरक्षा संयन्त्र कहाँ–कहाँ चुक्यो भन्ने विषय स्पष्ट हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0