पर्सामा चोरी गर्न घर पसेर वृद्धाको हत्या, हत्या अभियोगमा तीन युवा पक्राउ

Sep 27, 2026 - 18:48
 0  15
पर्सामा चोरी गर्न घर पसेर वृद्धाको हत्या, हत्या अभियोगमा तीन युवा पक्राउ

११ असाेज,पर्सा । पर्साको धोबिनी गाउँपालिकामा चोरी गर्न घर पसेका तीन युवाले वृद्धाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का १८ वर्षीय चन्दनकुमार पटेल, १८ वर्षीय रामु पासवान र घलथरिया भनिने १८ वर्षीय राजकपुर बैठा रहेका छन् । प्रहरीका अनुसार उनीहरूले असोज ५ गते राति करिब ११ः३० बजे राजकपुर बैठाको घरमा गाँजा सेवन गरी चोरी गर्ने योजना बनाएका थिए ।

 त्यसपछि राति करिब २ः३० बजे श्रीनिवास साह तुराहाको दुईतले पक्की घरको पछाडिको पर्खालबाट माथिल्लो तलामा चढेर झ्यालबाट घरभित्र प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले घरको स्टिलको दराज तोडेर नगद तथा गरगहना चोरी गर्नुका साथै अर्को कोठामा रहेको टिनको बाकसको ताल्चासमेत फुटाइरहेका बेला आवाज सुनेर ६२ वर्षीया लखरजिया देवी माथिल्लो तलामा पुगेकी थिइन् ।

त्यसक्रममा तीनै जनाले उनलाई देखेपछि कर्तव्य गरी हत्या गरेको र घरमा रहेका गरगहना तथा नगद चोरी गरी फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पोखरियासहितको प्रहरी टोली, अनुसंधान अधिकृत  र तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो ।

 प्रहरीले घटनास्थल तथा लासजाँच मुचुल्का तयार गरी शव परीक्षणका लागि नारायणी अस्पताल वीरगंज पठाएको थियो । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनै जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0