धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

Sep 30, 2026 - 06:47
 0  3
धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

१४ असाेज,जनकपुरधाम । धनुषाको रमदैयामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।

 जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत रमदैयास्थित राजदेव मन्दिर अगाडि प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले ठक्कर दिँदा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसी राम गम्भीर घाइते भएकी थिइन्।

 सोमबार साँझ भएको दुर्घटनामा घाइते नैनसीलाई तत्काल जानकी मेडिकल कलेज रमदैया लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि साँझ ७ः५५ बजे न्युरो अस्पताल जनकपुरधाम पठाइएको थियो।

उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।

 दुर्घटनापछि प्रहरीले टिपर चालक क्षिरेश्वरनाथ नगरपालिका–३ निवासी ३६ वर्षीय उमेश सिंह दनुवार र सहचालक महोत्तरीको भंगाहा नगरपालिका–९ निवासी १८ वर्षीय शम्भुकुमार यादवलाई नियन्त्रणमा लिएको छ।

 बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गरेका छन्। अवस्था तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक केशव गौतमको कमान्डमा २५ जना र जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक खनालको कमान्डमा ५० जना प्रहरी घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0