धनकुटामा सुमो जिप दुर्घटना : एक महिलाको मृत्यु, १० जना घाइते
४ असाेज,धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
आईतबार बिहान करिब ८ः१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा छथरजोरपाटी गाउँपालिका–३ की अन्दाजी ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
घाइतेमध्ये चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री, छथरजोरपाटी–४ की ४० वर्षीया धनमाया राई, उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बा, छथरजोरपाटी–४ की २६ वर्षीय आइन्द्र लिम्बु, छथरजोरपाटी–३ का २७ वर्षीय भवानी लिम्बु, ४७ वर्षीय हेमबहादुर लिम्बु, छथरजोरपाटी–४ का ३० वर्षीय अबिन लिम्बु र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
छथरजोरपाटी–४ की ३३ वर्षीया पुनम लिम्बुको अवस्था सामान्य रहेको छ भने उनकी २ वर्षीया छोरी आरध्या लिम्बुको अवस्था मध्यम छ। छथरजोरपाटी–३ का २१ वर्षीय आशिष लिम्बुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाएको जनाएको छ।
दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र दुर्घटनाग्रस्त सुमो निकाल्ने पहल भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0