दुर्घटना न्यूनीकरणमा पत्रकार महासंघ बाराको पहल, गाउँका जोखिमयुक्त स्थानमा रिफ्लेक्टिभ स्टिकर
२३ भदाै,बारा । नेपाल पत्रकार महासंघ बाराको समन्वयमा गाउँघरका जोखिमयुक्त सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ ।
नेपाल पत्रकार महासंघका सचिव पुष्पराज खतिवडाको पहलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले उपलब्ध गराएको स्टिकर जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वास्थित मौवापैनी पुलको वारिपारि टाँस्दै मंगलबार अभियानको सुरुवात गरिएको हो ।
रातको समयमा सडक तथा सडक किनारमा रहेका अवरोध स्पष्ट देखिन नसक्दा हुने दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ड्रम तथा बाँसका पिल्लरमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको हो । अभियानको सुरुवात वडा अध्यक्ष चतुरबाबु वाग्लेको विशेष उपस्थितिमा गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले बाराका सचिवालय सदस्य बसन्त खतिवडा, मौवादेवी युवा क्लब बडहर्वाका अध्यक्ष निर्मल कुमार यादव, सचिव जगदिप कोइराला, सामाजिक अगुवा भरत सुहाल, प्रहरी चौकी जैतापुरका निमित्त प्रमुख हवल्दार रामप्रित चौधरी तथा ट्राफिक प्रहरी पोस्ट पिलुवाका इन्चार्ज रामजनम रायलगायत सहभागी थिए ।
पछिल्लो समय ठूला राजमार्ग र सहरी क्षेत्रमा मात्र नभई ग्रामीण तथा भित्री सडकमा समेत सवारी दुर्घटना बढिरहेका छन् । सडकको दुरवस्था, ट्राफिक नियमको बेवास्ता र सवारी चालकको लापरवाही दुर्घटनाका प्रमुख कारण बन्दै आएका छन् । यस्ता दुर्घटनाबाट जनधनको ठूलो क्षति हुने गरेको छ ।
महासंघका सचिव खतिवडाले दुर्घटना न्यूनीकरणका लागि समुदाय र प्रहरीबीच सहकार्य आवश्यक रहेको बताए । ‘जेन–जी’ दिवसका अवसरमा समाज र प्रहरीलाई जोड्दै दुर्घटना न्यूनीकरणका लागि सकारात्मक पहलस्वरूप अभियान सुरु गरिएको उनको भनाइ छ ।
रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा रिफ्लेक्टिभ स्टिकर प्रभावकारी हुने भएकाले वडा नं. १८ का बडहर्वा, उचिडी, मनहर्वा, लामीडाँडा, पैनिटोललगायतका जोखिमयुक्त स्थानमा पनि स्टिकर टाँस गरिने भएको छ । बाँकी स्थानमा मौवादेवी युवा क्लबको अगुवाइमा स्टिकर टाँस्ने व्यवस्था मिलाइएको छ ।
त्यसका लागि आवश्यक स्टिकर क्लबलाई उपलब्ध गराइएको छ । ट्राफिक प्रहरी पोस्ट पिलुवाका इन्चार्ज रामजनम रायले क्लबका अध्यक्ष निर्मल कुमार यादवलाई स्टिकर हस्तान्तरण गरेका हुन् । अभियानले ग्रामीण सडकमा रातको समयमा हुने दुर्घटना न्यूनीकरणसँगै स्थानीयवासीमा सडक सुरक्षासम्बन्धी सचेतना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0