दुई तिहाइको सरकार व्यवहारमा लाचार देखियो : प्रभु साह

Sep 19, 2026 - 16:11
 0  12
दुई तिहाइको सरकार व्यवहारमा लाचार देखियो : प्रभु साह

 ३ असोज, पर्सा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको शक्तिशाली सरकार बने पनि व्यवहारमा सरकार कमजोर र लाचार देखिएको टिप्पणी गरेका छन्।

शनिबार वीरगञ्जस्थित टाउन हलमा आजपा सम्मिलित नौ दलीय मोर्चाको मधेश प्रदेश समन्वय समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै साहले सरकार जनतासँगको सम्पर्कबाट टाढिँदै ‘लिक’ बाहिर गएका कारण मुलुक अझै अन्त्यहीन संकटमा रहेको दाबी गरे। उनले वर्तमान सरकार विपक्षीका कारण कमजोर नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रैबाट भइरहेको असहयोगका कारण लाचार बनेको आरोप लगाए।

 संसद्मा रहेको संख्याका आधारमा सरकार शक्तिशाली देखिए पनि नीति र व्यवहारका कारण कमजोर अवस्थामा पुगेको उनको टिप्पणी थियो। प्रधानमन्त्री शाहले आफ्नो ‘एम्बिसन’ पूरा गर्न चाहेको भए अब ‘एक्सन’मा उत्रिनुपर्ने साहले बताए।

 प्रधानमन्त्री बनेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट एक सय दिनमा एक सय वटा शासकीय सुधारका कार्यक्रम घोषणा गर्दा जनतामा उत्साह देखिए पनि नीति तथा कार्यक्रम र बजेट आउने बेलासम्म त्यो उत्साह निराशामा परिणत भएको उनले बताए। साहले अहिले पनि समय घर्किनसकेको भन्दै प्रधानमन्त्रीलाई ‘जंगी अड्डा’तिर नभई जनताको भर पर्न सुझाव दिए।

उनले प्रधानमन्त्रीलाई संख्या होइन सत्य, बल होइन विधि र सेना होइन संविधानको साथमा हिँड्न आग्रह गरे। धार्मिक सद्भावमा खलल पुगेको सुनसरीको देवानगञ्ज घटनादेखि दुई साताअघि रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिसम्मका घटनामा रास्वपा नेतृत्वले प्रधानमन्त्रीलाई ‘बाइपास’ गरेर गतिविधि गरेको साहको आरोप छ। विदेश सम्बन्ध र कूटनीतिक अभ्यासमा पनि रास्वपाका सभापति रवि लामिछाने एकातिर र प्रधानमन्त्री शाह अर्कोतिर उभिएको तथा समानान्तर अभ्यास भइरहेको उनले दाबी गरे।

रास्वपाका सभापति लामिछानेले समानान्तर सरकार चलाउन खोज्दा सरकारको कार्यसम्पादनमा असर परेको भन्दै सचेत नागरिकबाट गुनासो आउन थालेको साहले बताए। रास्वपाले भागबन्डाको राजनीति गरेको र नेतातन्त्रको अभ्यास गरेको आरोप लगाउँदै उनले पछिल्लो समय सरकारका मन्त्री र रास्वपाका नेताबीच सार्वजनिक भएका आरोप–प्रत्यारोपले त्यसलाई पुष्टि गर्ने दाबी गरे। सरकारले सामान्य सेवा प्रवाहसमेत प्रभावकारी रूपमा गर्न नसक्दा आलोचित बन्नुपर्ने अवस्था दुःखद् भएको साहले बताए।

ग्यास अभावका कारण जनताको चुलो निभ्ने अवस्था आउँदासमेत समस्या समाधान हुन नसकेको तथा सरकारी सेवामा लाइन घट्नुको साटो बढ्दै गएको भन्दै उनले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाए। वर्तमान सरकार बनेपछि भएका नियुक्तिमा समेत समावेशिताको सिद्धान्तलाई बेवास्ता गरिएको साहको आरोप छ।

 महिला, मधेशी र दलित समुदायलाई उपेक्षा गरिएको तथा केही नियुक्तिमा कर्णाली र दलितको प्रतिनिधित्व शून्य बनाइएको दाबी गर्दै उनले समावेशी प्रतिनिधित्वको मूल मर्मलाई ध्यान दिन सरकारलाई सुझाव दिए। साहले आफूहरू देशलाई सही दिशा दिन एक ठाउँमा उभिएको र संघर्षको सहयात्रा सुरु गरेको बताए। आफूहरू सत्ताको खेलमा नभई संघर्षको बाटोमा रहेको उल्लेख गर्दै उनले राष्ट्रिय राजनीतिमा पनि सोहीअनुसार हस्तक्षेप गर्ने बताए।

 राजनीतिक व्यवस्था विकृत भएका कारण मुलुकको अवस्थामा सुधार आउन नसकेको र संकट झन् गहिरिँदै गएको उनको दाबी छ। वर्तमान राजनीतिक व्यवस्थामा सुधार नगरेसम्म देशले निकास नपाउने उनले बताए। उनले ‘फेक शासन’का कारण जनतामा भय र त्रासको अवस्था सिर्जना भएको भन्दै मोर्चाले त्यसलाई चिर्ने बताए।

 नयाँका नाममा आएकाहरूले अहंकारयुक्त नेपाल बनाउन खोजेको आरोप लगाउँदै साहले आफूहरू अहंकारमुक्त नेपालको पक्षमा रहेको बताए। “उनीहरू एकांकी र एकाधिकारपूर्ण राजनीति रुचाउँछन्, तर हामी सहअस्तित्व र सहकार्य चाहन्छौं। हामी उनीहरूजस्तो सिन्डिकेट होइन, सोलिडारिटी चाहन्छौं।

सर्वसत्तावाद होइन, सर्वस्वीकार्य बहुलवाद हाम्रो चाहना हो,” उनले भने। साहले नयाँ पुस्ताका नेताहरूले सामाजिक सञ्जाल मात्र बुझेको तर आफूहरू समाज बुझेका नेता भएको दाबी गरे। मोर्चामा आबद्ध नेताहरूले सरकारमा सहभागी भएर छोटो समयमै प्रभावकारी काम गरेको पनि उनले बताए।

उपेन्द्र यादवले विदेश नीति र स्वास्थ्य मन्त्रालयमा खेलेको भूमिका, जनार्दन शर्माले लोडसेडिङ अन्त्यमा खेलेको भूमिकादेखि आफूले सहरी विकासमन्त्री हुँदा गरेका कामसम्म उल्लेख गर्दै साहले अवसर पाउँदा आफूहरूले त्यसको सही सदुपयोग गरेको दाबी गरे। फरक प्रसंगमा साहले देशलाई दुःख पर्दा मधेशको पनि मन दुख्ने गरेको बताए।

भूकम्प, कोभिड महामारीदेखि हालै रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिसम्मका घटनामा मधेशले साथ दिएको उल्लेख गर्दै उनले आफूहरू देश जोड्ने अभियानमा रहेको बताए। अग्रगामी मोर्चाले देशलाई एकताको सूत्रमा बाँध्ने उनको विश्वास थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0