त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास जारी राखिने
१४ भदाै,काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना परिसर तथा मुख्य संरचनाहरू पुरिएपछि प्रभावित क्षेत्रमा मानिसहरू फसेको आशंकामा उद्धार प्रयास आज रातभर जारी राखिने भएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार अविरल बाढी र पहिरोका कारण आयोजनास्थलसम्म पुग्ने सडक सम्पर्क विच्छेद भएपछि नेपाली सेनाको नेतृत्वमा हेलिकप्टरमार्फत स्काभेटर तथा प्राविधिक टोली आयोजनास्थलमा पुर्याई बाटो खोल्ने र पुरिएको क्षेत्र सफा गर्ने काम भइरहेको छ।
हाल जमिनको सतहबाट करिब १० देखि १२ मिटर गहिराइमा रहेको टनेलको माथिल्लो भाग (क्राउन हेड) पुरिएको अवस्थामा रहेकाले त्यसलाई केन्द्रित गरी उत्खनन भइरहेको छ।
टनेलको क्राउन हेडबाट मानिस प्रवेश गर्न सक्ने प्वाल बनाउन तीनवटा स्काभेटर परिचालन गरिएको छ। यसअघि खोलामा खसेको एउटा स्काभेटरलाई समेत बाहिर निकालेर उद्धार कार्यमा प्रयोग गरिएको छ।
प्राविधिकहरूका अनुसार टनेलतर्फ पानी बग्ने अवस्था बनाउन करिब ३० देखि ४० मिटर चौडाइमा रहेको माटो तथा गेग्रान हटाउनुपर्नेछ। तीनवटै स्काभेटर निरन्तर सञ्चालन गर्दा टनेलको मुख्य भागसम्म पुग्न अझै करिब ६ देखि ७ घण्टा लाग्ने अनुमान गरिएको छ।
मानिसहरू टनेलभित्र फसेको हुन सक्ने आशंकामा उद्धार टोलीले रातको समयमा समेत काम नरोक्ने र टनेलको मुख्य भागसम्म पुगेर खोजी तथा उद्धार गर्ने प्रयास जारी राख्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0