रौतहटका राजकुमारसहित कलंकीमा मोबाइल लुटपाट गर्ने तीन जना पक्राउ
४ मंसिर,काठमाडौं । काठमाडौंको कलंकीमा धारिलो हतियार देखाएर धाकधम्की दिँदै मोबाइल लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर ३ गते बिहान करिब ३ः४२ बजे काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकखण्डमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाएर धाकधम्की दिँदै मोबाइल लुटपाट गरेका थिए ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–१ घर भई हाल कलंकी बस्ने ३३ वर्षीय राजकुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई हाल कलंकी बस्ने २८ वर्षीय सागर तामाङ र कास्कीको पोखरा घर भई हाल कलंकी बस्ने २८ वर्षीया सन्ध्या तामाङ रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट लुटपाट गरिएका मोबाइलसमेत बरामद गरेको जनाएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0