चीनको तिब्बतमा पहिरोका कारण बनेको ताल फुट्यो, रसुवामा बाढीको उच्च जोखिम
ईर्साद अन्सारी
१२ भदौ, काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पहिरोका कारण बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएपछि रसुवामा नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी गराएको हो।
सूचना प्राप्त भएसँगै नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले सर्कुलर गरिसकेको छ। प्रजिअ परियारले अनलाइनखबरसँग भनेका छन्, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ ।
नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ।’ चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा पहिरोका कारण ठूलो ताल बनेको थियो। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। चीनको जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरेको थियो। सम्भावित बाँध फुट्ने जोखिमलाई ध्यानमा राख्दै चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको थियो।
तर, ताल फुटेपछि नेपालतर्फ समेत आकस्मिक बाढीको जोखिम बढेको हो। छोचेन खोला र पुरेपू त्साङ्पो नदी त्रिशूली नदी प्रणालीअन्तर्गतका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन्। तिब्बत स्वायत्त क्षेत्रमा उद्गम हुने यी नदीहरू नेपाल प्रवेश गरेपछि भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा मिसिन्छन्। चीनतर्फ उद्धार अभियान स्थगित तालमा पानीको मात्रा बढ्दै गएपछि चीनले तिब्बतमा जारी उद्धार अभियानसमेत स्थगित गरेको छ।
अलजजिराले चिनियाँ राज्य सञ्चालित प्रसारकहरूलाई उद्धृत गर्दै जनाएअनुसार चिनियाँ सरकारले उद्धार टोलीलाई घटनास्थलबाट कम्तीमा एक किलोमिटर टाढा सुरक्षित स्थानमा हट्न आदेश दिएको छ।
चीन–नेपाल सीमामा पहिरोपछि थुप्रिएको ठूलो मात्राको भग्नावशेष र लेदोका कारण बनेको ताल भरिएपछि उद्धार टोली परिचालित क्षेत्रमा पानी बग्न थालेको चिनियाँ सरकारी प्रसारक सीसीटीभीले जनाएको छ। सीसीटीभीका अनुसार सबै उद्धार टोलीलाई सुरक्षित स्थानमा स्ट्यान्डबाई अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ।
यसअघि घटनास्थलमा पुगेका आपत्कालीन टोलीलाई समेत एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको थियो। विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रमा अझै सयौँ मानिस बेपत्ता रहेको बताइएको छ। ताल फुटेपछि थप बाढी आउन सक्ने जोखिमका कारण उद्धार तथा खोजी कार्य प्रभावित भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0