चक्रवात ‘अर्णव’को प्रभाव बिहीबारदेखि नेपालमा, १३ जिल्लाका हिमाली तथा उच्च पहाडी क्षेत्रमा रेड अलर्ट
ईर्साद अन्सारी
९ कातिक,काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’ थप शक्तिशाली बन्दै गएपछि आगामी बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको जोखिम बढ्ने भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष मौसमी बुलेटिन जारी गर्दै सम्भावित मौसमी जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार बंगालको खाडीमा रहेको चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक ११ गते बुधबार भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानमनजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ। उक्त प्रणालीको प्रभाव कात्तिक १२ गते बिहीबारदेखि नेपालमा देखिन सक्ने र विशेषगरी शुक्रबार तथा शनिबार बढी प्रभाव पर्ने अनुमान गरिएको छ।
महाशाखाको पूर्वानुमानअनुसार कात्तिक १३ र १४ गते कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा हुन सक्नेछ। ती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। महाशाखाले हिमाली तथा उच्च पहाडी क्षेत्रका १३ जिल्लाका लागि रेड अलर्ट जारी गरेको छ।
रेड अलर्टमा हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा र धादिङका हिमाली भूभाग तथा रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ जिल्ला समेटिएका छन्। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
पर्यटकलाई उक्त अवधिमा उच्च हिमाली क्षेत्रमा नजान र गइसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ। सम्भावित वर्षाका कारण धानबाली भित्र्याउने काम प्रभावित हुन सक्ने भएकाले किसानलाई बिहीबारअघि नै धानबाली भित्र्याउनेलगायत कृषि कार्य सम्पन्न गर्न महाशाखाले सुझाव दिएको छ।
वर्षाका कारण पहाडी सडकमा पहिरो जान सक्ने, चिसो बढ्न सक्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि आग्रह गरिएको छ।
महाशाखाले मौसमी प्रणालीको विकासक्रमअनुसार पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई नियमित मौसम सूचना हेर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।फाेटाे:उपग्रह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0