हेटौँडाको रातोमाटे चेकपोइन्टबाट कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ
८ कातिक,मकवानपुर । मकवानपुरको हेटौँडामा कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने धातुसहित चार जना पक्राउ परेका छन्।
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकैबाट प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।
दिउँसो करिब ३:१५ बजे प्रहरी चौकी रातोमाटेबाट प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको कमाण्डमा खटिएको चेकिङ टोलीले भारतको रक्सोलबाट काठमाडौं जाँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाई चाँदीजस्तो देखिने धातु लुकाएर ल्याइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामद धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ।
पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दा देवी सोनार, चालकका १७ वर्षीय छोरा र चालककी करिब २० वर्षीया भान्जी नन्दनी कुमारी साह रहेका छन्।
प्रहरीले बरामद धातुसहित चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ।
बरामद धातु वास्तविक चाँदी हो वा अन्य कुनै धातु भन्ने विषयमा परीक्षण तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0