भारतको गुवाहाटीस्थित होटलमा अन्धाधुन्ध गोलीबारी, पाँच जनाको मृत्यु, एक घाइते; आरोपी पक्राउ

Oct 27, 2026 - 01:28
 0  18
भारतको गुवाहाटीस्थित होटलमा अन्धाधुन्ध गोलीबारी, पाँच जनाको मृत्यु, एक घाइते; आरोपी पक्राउ

१० कातिक,काठमाण्डाैं । भारतको असम राज्यस्थित गुवाहाटीको एक होटलमा अन्धाधुन्ध गोलीबारी हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

 घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार (२६ अक्टोबर २०२६) राति करिब ९ बजे गुवाहाटीको बोरा सर्भिस क्षेत्रस्थित होटल बिलास इनमा गोलीबारी भएको हो।

घटनामा गोली लागेर पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएका छन्। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति घनकान्त गोगोई हुन्। घटनामा प्रयोग भएको आशङ्कामा प्रहरीले .३२ बोरको पेस्तोलसमेत बरामद गरेको छ।

घटनापछि प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार होटलको स्वामित्व पक्ष र भाडामा सञ्चालन गर्ने पक्षबीच भएको विवाद घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

 होटल भाडामा लिने विषय तथा सम्झौतासम्बन्धी विवादलाई लिएर तनाव उत्पन्न भएको हुन सक्ने प्रहरीको भनाइ छ। मृत्यु हुने पाँच जनामध्ये चार जना एउटै परिवारका सदस्य रहेको र पाँचौँ व्यक्ति पनि उनीहरूकै गाउँका रहेको भारतीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन्।

घाइते व्यक्ति पनि सोही गाउँका रहेको बताइएको छ। घाइतेलाई उपचारका लागि गुवाहाटी मेडिकल कलेज तथा अस्पताल लगिएको छ। घटनाको वास्तविक कारण, गोलीबारीमा प्रयोग भएको हतियार तथा घटनामा संलग्न अन्य पक्षबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0