व्यक्तिगत र धार्मिक भ्रमणका क्रममा रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
६ कातिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता लामिछानेसहित तीनदिने भारत भ्रमणमा निस्किएका छन् ।
शुक्रबार बिहान हवाईमार्गबाट धनगढी पुगेका लामिछाने कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत प्रवेश गरेका हुन् । लामिछानेले आफ्नो भ्रमण विशुद्ध व्यक्तिगत तथा धार्मिक उद्देश्यले रहेको बताएका छन् ।
भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट वा गतिविधि नरहेको स्पष्ट पार्दै उनले व्यक्तिगत र राजनीतिक विषयलाई अलग राख्न आग्रह गरेका छन् । गड्डाचौकी नाकाबाट भारततर्फ प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफ्नो भ्रमणलाई राजनीतिक विषयसँग जोडेर अनावश्यक बहस नगर्न आग्रह गरे ।
‘कुनै राजनीतिक भेटघाट छैन । कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘यो मेरो असाध्यै व्यक्तिगत भ्रमण भएको हुनाले कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ । त्यसलाई अलग्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु ।’
लामिछानेका अनुसार कारागारमा रहँदा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम जाने भाकल गरेका थिए । सोही भाकल पूरा गर्न र पारिवारिक धार्मिक आस्थाअनुसार पूजाआजा गर्न आफू भारत जान लागेको उनले बताएका छन् । ‘म कारागारमा हुँदा नै एउटा परम्परा, भाकल गरिन्छ भनौँ न । त्यसलाई पूरा गरौँ भनेर जान लागेको हुँ,’ उनले भने ।
तीनदिने भ्रमणका क्रममा लामिछाने परिवारसहित उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुग्ने कार्यक्रम छ । दुवै धार्मिक स्थलमा पूजाआजा गर्ने उनको योजना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0