गुल्मी स्कारपियो दुर्घटना अपडेट : मृतक ६ र घाइते ३ जनाकै पहिचान खुल्यो
९ कातिक,गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा मृत्यु भएका ६ जना र घाइते भएका तीनै जनाको पहिचान खुलेको छ।
दुर्घटनामा स्कारपियो चालकसहित ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर र दुई जना मध्यम अवस्थाका घाइते भएका छन्।
साेमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा मृत्यु हुनेमा स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिपकुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे र सिता पाण्डे तथा सिरकोट घर भई हाल बुटवलको खैरेनीमा बस्दै आएका कुलानन्द पाण्डे रहेका छन्।
त्यस्तै, दुर्घटनामा घाइते भएकी निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्।
घाइते छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल रेफर गरिएको छ। उनको अवस्था गम्भीर रहेको छ।
गोमता पाण्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने बालकृष्ण सुवेदीलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल रेफर गरिएको छ।
उनीहरू दुवैको अवस्था मध्यम रहेको जनाइएको छ। दुर्घटनापछि उद्धार टोलीले घटनास्थलबाट मृतक तथा घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा पुर्याएको थियो। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0