कृष्णभीरमा लेदो सहितकाे पहिरो: १८ दिनपछि खुलेको पृथ्वी राजमार्गको नयाँ ट्र्याक पुनः एकतर्फी
८ असाेज,धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर नजिकै लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ।
बिहीबार बिहान कृष्णभीरभन्दा करिब १०० मिटर अगाडि पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पहिरोका कारण राजमार्गमा सवारी साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।
सो क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन भइरहेको प्रहरीले जनाएको छ। सडकमा थप पहिरो खस्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
यसअघि भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर क्षेत्रमा सडक कटान गर्दा पृथ्वी राजमार्ग १८ दिनसम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो। पछि नयाँ ट्र्याक खोलेर असोज १ गतेदेखि मात्रै उक्त सडकखण्डमा यातायात पुनः सञ्चालनमा ल्याइएको थियो।
नयाँ ट्र्याक सञ्चालनमा आएको केही दिनमै पुनः पहिरो खसेपछि राजमार्गमा यात्रा गर्ने यात्रुहरू प्रभावित भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0