कांग्रेसको १५ औ महाधिवेशन:उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
२६ काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् । आइतबार राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार उपसभापतिको खुलातर्फ भण्डारी र आचार्य तथा समावेशीतर्फ चौधरी निर्वाचित भएका हुन् ।
त्यस्तै, महामन्त्रीको खुलातर्फ पौडेल र राणा तथा महिलातर्फ संग्रौला निर्वाचित भएका छन् । यसअघि शनिबार गगनकुमार थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए । थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए ।
उपसभापतिमा कसले कति मत पाए ?
उपसभापतिको खुलातर्फ चन्द्रकान्त भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरी दोस्रो स्थानमा रहेर निर्वाचित भएका छन् ।
यस पदका अन्य प्रतिस्पर्धीमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।
उपसभापतिको समावेशीतर्फ विनोदकुमार चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरे । चौधरीले परियारलाई ८७ मतले पछि पारेका हुन् । यसैगरी फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।
महामन्त्रीमा पौडेल सर्वाधिक मतसहित विजयी
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक ४ हजार १९४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गर्दै अर्को महामन्त्री पदमा जित हासिल गरेका छन् । खुलातर्फका अन्य उम्मेदवारमध्ये सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।
महिला महामन्त्रीमा डिला संग्रौला ३ हजार ११८ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत पाएकी छन् । उपसभापति र महामन्त्रीको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट यी पदमा नयाँ नेतृत्व चयन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0