सांसद खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
२६ असाेज,काठमाडौं, असोज २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन सुरु गरेको छ।
पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
मंगलबार जारी विज्ञप्तिमा रास्वपाले सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा सुनारसँग सम्बन्धित विषयमा उठेका गम्भीर प्रश्नहरूप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई गम्भीर र संवेदनशील रूपमा लिइएको उल्लेख छ।
यी विषय सार्वजनिक रूपमा आरोपका रूपमा उठेकाले तिनको सत्यतथ्य अनुसन्धान आवश्यक रहेको पार्टीले जनाएको छ। रास्वपाले घटनाबारे छानबिन गर्न केन्द्रीय अनुशासन आयोगलाई तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको जनाएको छ।
अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिनको निष्कर्ष नआउँदासम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको विज्ञप्तिमा उल्लेख छ। पार्टीले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। ‘
कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ।
विज्ञप्तिमा कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ। रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्ति मंगलबार सार्वजनिक गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0