सर्लाहीमा १३२ केभीको हाइटेन्सन पोलमा चढिन् किशोरी, तीन घण्टादेखि उद्धार प्रयास जारी

Oct 15, 2026 - 20:46
 0  6
सर्लाहीमा १३२ केभीको हाइटेन्सन पोलमा चढिन् किशोरी, तीन घण्टादेखि उद्धार प्रयास जारी

२९ असोज,सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–२ की १७ वर्षीया किशोरी १३२ केभी विद्युत् प्रसारण लाइनको हाइटेन्सन पोलको टुप्पोमा चढेर बसेपछि उनको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

बिहीबार दिउँसो करिब साढे ४ बजे पोलमा चढेकी किशोरी तीन घण्टाभन्दा बढी समय बितिसक्दा पनि तल नझरेपछि उद्धारमा कठिनाइ भएको हो। घटनास्थलमा रहेका सुरक्षाकर्मीले उनलाई सुरक्षित रूपमा तल झार्न प्रयास गरिरहेका छन्।

स्थानीयले किशोरी पोलमा चढेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति बन्द गराएको जनाएको छ।

 जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमका अनुसार किशोरी हालसम्म सुरक्षित अवस्थामा छिन्। परिवारका सदस्यबाट प्राप्त जानकारीअनुसार उनको मानसिक अवस्था सामान्य नरहेको बताइएको छ।

 पोलको तल रहेका अभिभावक तथा सुरक्षाकर्मीले पटक–पटक आग्रह गर्दा पनि किशोरी तल झर्न नमानेपछि उद्धारका लागि थप प्रयास भइरहेको प्रहरीले जनाएको छ। उनलाई सुरक्षित रूपमा तल झार्न सुरक्षाकर्मी आफैं पोलमा चढ्ने तयारीसमेत गरिएको छ।

 घटनास्थलमा इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक शिव कट्टेल र अस्थायी प्रहरी पोस्ट हेम्पुर पचगछियाका प्रहरी सहायक निरीक्षक छविलाल साहको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। किशोरीका आफन्त पनि घटनास्थलमा उपस्थित छन्।

विद्युत् प्रवाह पूर्ण रूपमा बन्द गराएर किशोरीको सुरक्षित उद्धार गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0