काठमाडौंमा हवाई फायर गरेर ३०० ग्राम खैरो हेरोइनसहित वीरगन्जका ४१ वर्षीय मियाँ पक्राउ
२७ असाेज,काठमाण्डाैं । काठमाडौं उपत्यकामा लागुऔषध खैरो हेरोइन आपूर्ति गर्ने आरोपमा प्रहरीले हवाई फायर गरेर वीरगन्जका एक जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तार्केश्वर नगरपालिका–४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगन्ज महानगरपालिका–३१ का ४१ वर्षीय बासुर्दिन मियाँलाई पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार भारतबाट वीरगन्जको रक्सौल नाका हुँदै काठमाडौं उपत्यकामा लागुऔषध आपूर्ति गर्ने गिरोहको पहिचान गरी निगरानी गर्ने क्रममा मंगलबार मियाँ शंकास्पद अवस्थामा फेला परेका थिए।
प्रहरीले उनलाई रोकेर जाँच गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरेर नियन्त्रणमा लिएको ब्यूरोले जनाएको छ। पक्राउ परेका मियाँको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोबाइल बरामद गरिएको छ।
ब्यूरोका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मियाँले पछिल्लो तीन महिनामा २०० ग्रामका दरले पाँचदेखि छ पटकसम्म काठमाडौं उपत्यकामा खैरो हेरोइन आपूर्ति गरिसकेको खुलेको छ।
बरामद लागुऔषधको परिमाणका आधारमा लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार १५ वर्षदेखि जन्मकैदसम्मको कैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्यूरोले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0