प्रचण्डद्वारा बाढीपहिरो प्रभावितलाई २१ अस्थायी आवास हस्तान्तरण

Oct 13, 2026 - 10:36
 0  8
प्रचण्डद्वारा बाढीपहिरो प्रभावितलाई २१ अस्थायी आवास हस्तान्तरण

ईर्साद अन्सारी

२७ असाेज,नुवाकोट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।

 मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा प्रचण्डले प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गरेका हुन्। दुई कोठा र शौचालयसहितका आवास निर्माणमा प्रतिघर करिब चार लाख रुपैयाँ खर्च भएको वाईसीएलले जनाएको छ।

 कार्यक्रममा प्रचण्डले रसुवाको भोटेकोशीमा आएको बाढीलाई प्राकृतिक विपत्ति मात्र नभई विकसित मुलुकले अपनाएको गलत विकास मोडल र जलवायु परिवर्तनको असरका रूपमा व्याख्या गरे। कार्बन उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर नेपालले भोग्नुपरेको उनको भनाइ थियो।

घर पाएपछि बेलकोटगढी–७ का ६३ वर्षीय श्रीकृष्ण नेपालले बाढीले आफ्नो घर आधा पुरेको बताउँदै नयाँ आवासलाई ‘सिंहदरबार’को संज्ञा दिए। स्थानीय प्रदीप राईले नयाँ घरमा दसैं मनाउन पाउने भन्दै खुसी व्यक्त गरे। वाईसीएलका अनुसार आवास निर्माण, उद्धार, राहत, सरसफाइ तथा पुनःस्थापनाका काममा ६ सयभन्दा बढी नेता–कार्यकर्ता परिचालित भएका थिए।

संगठनले खाद्यान्न, त्रिपाल, औषधि, लत्ताकपडालगायत सामग्री वितरण गर्नुका साथै देशभर १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको जनाएको छ। वाईसीएलले २१ वटा आवास हस्तान्तरण गरेको बताए पनि सार्वजनिक विवरणमा २० परिवारको नाम मात्रै उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0