बाढी–पहिरोपीडितका लागि कोल्हवी–५ बाट राहत सामग्री बोकेको टोली भोटेकोसी, नुवाकोट र रसुवातर्फ प्रस्थान

Sep 6, 2026 - 14:30
 0  4
बाढी–पहिरोपीडितका लागि कोल्हवी–५ बाट राहत सामग्री बोकेको टोली भोटेकोसी, नुवाकोट र रसुवातर्फ प्रस्थान

२१ भदाै,बारा । भोटेकोसी, नुवाकोट र रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि बाराको कोल्हवी नगरपालिका–५ बाट संकलन गरिएको राहत सामग्री बोकेको टोली आज प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।

‘मानवता हाम्रो धर्म, सहयोग हाम्रो कर्म’ भन्ने नारासहित वडा कार्यालयको पहलमा सञ्चालन गरिएको घरदैलो अभियानबाट चामल, दाल, चिउरा, तेल, नुन, पानी, त्रिपाल, म्याट्रेस, लत्ताकपडा तथा औषधिजन्य सामग्रीलगायतका राहत सामग्री संकलन गरिएको हो।

 रामवन, बोधवन, माछागाउँ, ककडी टोल, नयाँटोल र बेल्वा बजारलगायतका क्षेत्रमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा, आमा समूह, टोल विकास समिति, व्यापारी तथा सर्वसाधारणको सहभागितामा राहत संकलन गरिएको थियो।

संकलित सामग्री ट्रक तथा अन्य सवारी साधनमा लोड गरी जनप्रतिनिधि, समाजसेवी र स्वयंसेवकको टोली आफैँ प्रभावित क्षेत्रमा पुगेर वास्तविक पीडित परिवारलाई वितरण गर्ने तयारी गरिएको छ।

 आवश्यकताको आधारमा बढी प्रभावित परिवारलाई प्राथमिकता दिइने जनाइएको छ। विपद्मा परेका नागरिकलाई सहयोग गर्न तराई–मधेसबाट पहाड तथा हिमाली क्षेत्रतर्फ गरिएको यो पहलले भौगोलिक दूरीभन्दा माथि उठेर मानवीय एकताको सन्देश दिएको स्थानीयको भनाइ छ।

 राहत अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, समाजसेवी, युवा, संघसंस्था, व्यापारी तथा स्थानीय बासिन्दाप्रति वडा कार्यालयले आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0