गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान
२६ असाेज,काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।
गृहमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो। नयाँदिल्लीमा मंगलबार आयोजना हुने बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुने कार्यक्रम छ।
बैठकमा भारत, नेपाल, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका प्रतिनिधिहरू सहभागी हुनेछन्। बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत हुन लागेको बैठकमा सदस्य राष्ट्रहरूबीच साझा सुरक्षा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
क्षेत्रीय सुरक्षा सहकार्य, कानुन कार्यान्वयन र सुरक्षा निकायहरूबीच समन्वय बैठकका प्रमुख एजेन्डा रहनेछन्। भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
उक्त भेटमा नेपाल–भारत सुरक्षा सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। गृहमन्त्री गुरुङ असोज २८ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0