चितवन इभी आगलागी घटना: मृतक अमर पराजुलीका परिवारलाई सीजी मोटर्सद्वारा १२ लाख अन्तरिम क्षतिपूर्ति

Oct 15, 2026 - 15:33
 0  4
चितवन इभी आगलागी घटना: मृतक अमर पराजुलीका परिवारलाई सीजी मोटर्सद्वारा १२ लाख अन्तरिम क्षतिपूर्ति

ईर्साद अन्सारी

२९ असाेज,चितवन । चितवनको भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा मृत्यु भएका अमर पराजुलीको परिवारलाई सीजी मोटर्सले १२ लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति दिएको छ। 

 भदौ २६ गते भरतपुर महानगरपालिका–९, वसन्तचोक नजिकै जीएसी आयोन विद्युतीय कारमा आगलागी हुँदा ५६ वर्षीय पराजुलीको कारभित्रै जलेर मृत्यु भएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा कम्पनीले कानुनबमोजिम थप दायित्व निर्धारण हुने गरी उक्त रकम उपलब्ध गराएको हो।

 कारको प्राविधिक कमजोरीका कारण दुर्घटना भएको पुष्टि भए थप क्षतिपूर्ति दिने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ। मृतक परिवारका अनुसार कम्पनीले किस्ताबापत तिर्न बाँकी ५ लाख ५० हजार रुपैयाँसमेत छुट दिएको छ।

घटनाका बेला कारको पछाडिको भागबाट आगो र धुवाँ देखिएको प्रत्यक्षदर्शीले बताएका छन्। आगलागीपछि चालकले कारबाट बाहिर निस्कन नसकेको र बाहिरबाट समेत ढोका खोल्न नसक्दा उनको मृत्यु भएको परिवारको भनाइ छ।

 घटनाले विद्युतीय कारको सुरक्षा प्रणाली, विशेषगरी आपत्कालीन अवस्थामा ढोका खोल्न सकिने व्यवस्थामाथि प्रश्न उठाएको छ। सीजी मोटर्सले प्रारम्भिक अध्ययनमा आगलागी ब्याट्रीबाट सुरु भएको नदेखिएको दाबी गरे पनि दुर्घटनाको वास्तविक कारण पुष्टि भइसकेको छैन।

 जिल्ला प्रहरी कार्यालय चितवनले निर्माता कम्पनी जीएसी आयोनका प्राविधिकसहित विज्ञ टोलीबाट परीक्षण गराई प्रतिवेदनका आधारमा थप अनुसन्धान अघि बढाउने जनाएको छ। मृतक परिवारले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै जाहेरी दिएको छ।

परिवारले प्राविधिक प्रतिवेदनको प्रतीक्षा गरिरहेको भए पनि उचित सम्बोधन नभए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0