वीरगन्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा
११ भदौ,बारा । वीरगन्ज महानगरपालिका–२९ मुसैली गाउँमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनीहरूकी सौतेनी आमा रोशनी मिश्रा चौबेलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार रोशनीलाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। मृत्युको वास्तविक कारण भने शवको शल्यपरीक्षण प्रतिवेदन प्राप्त भएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मुसैलीका ९ वर्षीय आदर्श चौबेको आइतबार र उनकी बहिनी अनुष्का चौबेको मंगलबार शंकास्पद अवस्थामा मृत्यु भएको हो। अनुष्काको शव शल्यपरीक्षणका लागि काठमाडौं पठाइएको छ। मृतकका मामा प्रिन्सकुमार त्रिपाठीले आदर्शको मृत्युबारे परिवारलाई जानकारी नदिई अन्त्येष्टि गरिएको आरोप लगाएका छन्।
अनुष्काको मृत्युको प्रकृति आदर्शको मृत्युसँग मिल्दोजुल्दो देखिएपछि परिवारले प्रहरीलाई खबर गरेको उनको भनाइ छ। बालबालिकाकी आमाको करिब तीन वर्षअघि मृत्यु भएपछि उनीहरूका बुबा तारकेश्वर चौबेले रोशनीसँग दोस्रो विवाह गरेको परिवारले जनाएको छ।
परिवारले सौतेनी आमाबाट बालबालिकामाथि दुर्व्यवहार तथा शोषण भएको आरोपसमेत लगाएको छ। यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ। घटना हुँदा बालबालिकाका बुबा भारतमा रहेको र हाल बिरामी अवस्थामा वीरगन्ज हेल्थकेयर हस्पिटलमा प्रहरीको निगरानीमा उपचाररत रहेको प्रहरीले जनाएको छ।
दुवै बालबालिकाको मृत्युको वास्तविक कारण पोष्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानपछि मात्र यकिन हुने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0