रौतहटमा तीन घरमा चोरी: अनुसन्धानका क्रममा लोडेड कटुवा पेस्तोल बरामद
२ असाेज,रौतहट । रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीन वटा घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ।
प्रहरीका अनुसार २०८३ असोज २ गते बिहान दयाराम साहको एकतल्ले पक्की घरको पछाडिको ढोकामा लगाइएको आग्लो भाँचेर घरभित्र प्रवेश गरी रेडमी, ओपो र रियलमीका तीन थान मोबाइल चोरी भएको थियो।
त्यस्तै, सोही स्थानका मनोज साहको घरमा छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो साइडबाट निकालेर दराजमा राखिएको पर्सबाट करिब ५ हजार रुपैयाँ नगद चोरी भएको प्रारम्भिक विवरणमा उल्लेख छ। यसैगरी रामाज्ञा साहको घरको माथिल्लो ढोकाबाट प्रवेश गरी कोठामा रहेको टिनको बाकसभित्र राखिएको पर्सबाट ८ हजार रुपैयाँ नगद र एक थान भिभो मोबाइल चोरी भएको प्रहरीले जनाएको छ।
तीनवटै घरमा चोरी भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरी घटनाको अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा दयाराम साहको खपडाको छानो भएको भुईँघरको बरण्डामा रहेको खाटमा एक थान लाइभ राउण्ड लोडेड कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले पेस्तोल बरामद गरी चोरीको घटना तथा बरामद हतियारसँग सम्बन्धित विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0