मुख्य राजमार्गमा पहिरो र बाढीको अवरोध, यात्रा गर्नुअघि बाटोको अवस्था बुझ्न प्रहरीको आग्रह

Sep 22, 2026 - 07:18
 0  3
मुख्य राजमार्गमा पहिरो र बाढीको अवरोध, यात्रा गर्नुअघि बाटोको अवस्था बुझ्न प्रहरीको आग्रह

६ असाेज,काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

 नेपाल प्रहरीले मंगलबार बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र हिँड्न आग्रह गरेको छ। प्रहरीका अनुसार कोशी प्रदेशको संखुवासभास्थित मकालु गाउँपालिका–४ नेता भिरमा पहिरोका कारण कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।

उक्त सडकखण्ड असोज २ गते बिहानदेखि बन्द रहेको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेमा सम्भावित बाढीका कारण बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा सवारी सञ्चालन प्रभावित भएको छ।

प्रहरीका अनुसार अर्को सूचना नभएसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको अवस्था हेरी सवारी सञ्चालन गरिने व्यवस्था गरिएको छ। १० टनसम्मका मालबाहक सवारी साधनलाई समेत तोकिएको समयमा सञ्चालन गर्न दिइने जनाइएको छ।

रसुवामा बाढीका कारण मुख्य राजमार्गका सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन्। भदौ १० गतेदेखि अवरुद्ध सडक अर्को सूचना नभएसम्म खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै, विदुर नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङल्हामु सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा पहिरोका कारण पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। सोही गाउँपालिकाको शीतलबजार क्षेत्रमा पनि पहिरोका कारण पृथ्वी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

प्रहरीले बाढी, पहिरो तथा मौसमको अवस्थाका कारण सडकको स्थिति जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले लामो यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0