मानवअधिकार आयोगको कडा कदम: टेकु अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी खड्कालाई मंगलबार बयानका लागि बोलाइयो
ईर्साद अन्सारी
१२ असाेज,काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेनजी सुरक्षा थ्रेट’को कारण देखाउँदै पक्राउ पूर्जीविना तथा अदालतको अनुमति नलिई आइतबार बिहान २ बजे निवासबाटै नियन्त्रणमा लिएको घटनाबारे आयोगले एसएसपी खड्कालाई बयानका लागि बोलाएको हो।
प्रहरीले नियन्त्रणमा लिएका जबरालाई सोही दिन दिउँसो रिहा गरेको थियो। रिहा गर्नुअघि उनलाई भेट्न राष्ट्रिय मानवअधिकार आयोगको टोली टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको थियो। तर, प्रहरीले आयोगको टोलीलाई जबरासँग भेट गर्न नदिएपछि टोली त्यसै फर्किएको थियो।
जबरालाई नियन्त्रणमा लिएको तथा आयोगको टोलीलाई भेट गर्न नदिएको दुवै विषयलाई लिएर आयोगले एसएसपी खड्कालाई बयानका लागि बोलाएको जनाएको छ।
आयोगले एसएसपी खड्कालाई मंगलबार आयोगमा उपस्थित भएर बयान दिन निर्देशन दिएको छ। यसका लागि आयोगले उनलाई पत्राचारसमेत गरिसकेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0