मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, संविधानको धारा १६८(३) अनुसार प्रदेश प्रमुखको निर्णय

Nov 21, 2026 - 13:51
 0  15
मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, संविधानको धारा १६८(३) अनुसार प्रदेश प्रमुखको निर्णय

५ मंसि,,जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

 प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री पदमा आज नियुक्त गरेका हुन्।

 प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न शुक्रबार मंसिर ४ गते अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको थियो। तर, तोकिएको समयभित्र कुनै पनि दलबाट दाबी पेस नभएपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

मुख्यमन्त्री नियुक्तिको अघिल्लो दिन शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। उनीहरूले दलहरूबीच सहमति जुटाउन समय अपुग भएको भन्दै सरकार गठनका लागि थप समय दिन प्रदेश प्रमुखसँग आग्रह गरेका थिए।

तीन दलका नेताहरूले करिब ६१ प्रदेशसभा सदस्यको समर्थन जुटाउन सकिने भन्दै केही दिन समय थप्न माग गरेका थिए। तर, उनीहरूको मागअनुसार समय थपिएन। यता, जनता समाजवादी पार्टी नेपालले भने संविधानको धारा १६८ को उपधारा (३) अनुसार आफ्नो दलका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै आएको थियो।

प्रदेश प्रमुखको पछिल्लो निर्णयसँगै मधेश प्रदेशमा जसपा नेपालका नेता सरोजकुमार यादवको नेतृत्वमा नयाँ सरकार गठन हुने बाटो खुलेको छ।

प्रदेश प्रमुखले नवनियुक्त मुख्यमन्त्री यादवलाई कार्यकाल सफलताको शुभकामनासहित नियुक्तिपत्रसमेत प्रदान गरेका छन्। अब मधेश प्रदेशको नयाँ सरकारमा कुन-कुन दल सहभागी हुन्छन् र मन्त्रिपरिषद्ले कस्तो स्वरूप लिन्छ भन्ने चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0