बाढी प्रभावित अपर त्रिशूली–३ए: प्राधिकरणको उच्चस्तरीय टोली फिल्डमा, विद्युत् पुनःस्थापना तीव्र
११ भदाै,काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित भएको अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार सफलतापूर्वक आयोजनास्थलमा अवतरण गरेको छ।
प्रतिकूल मौसमका कारण बुधबार दुई पटकको प्रयास असफल भएपछि बिहीबार हेलिकप्टर आयोजनास्थलमा पुग्न सफल भएको हो। हेलिकप्टर अवतरणसँगै आयोजनामा भएको क्षतिको स्थलगत मूल्याङ्कन तथा उद्धार कार्य अघि बढाइएको छ। उद्धार, क्षतिको आकलन र विद्युत् सेवा पुनःस्थापनालाई तीव्रता दिन नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोली पनि प्रभावित क्षेत्रमा परिचालित भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा यथाशीघ्र पुनःस्थापना गर्न आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएपछि प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ नेतृत्वको टोली बिहीबार बिहानैदेखि फिल्डमा खटिएको हो।
टोलीमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल र एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणा सहभागी छन्।
टोलीले प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन, उद्धार समन्वय तथा विद्युत् पुनःस्थापनाको प्रगति अनुगमन गरिरहेको प्राधिकरणले जनाएको छ। बाढीका कारण प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सुचारु गर्ने कामसमेत अघि बढाइएको छ।
प्राधिकरणका अनुसार सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत नुवाकोटका खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ।
नुवाकोटका अन्य प्रभावित क्षेत्रमा गरिएको स्थलगत निरीक्षणका क्रममा ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरेर विद्युत् आपूर्ति सञ्चालन गर्न सकिने सम्भावना देखिएको प्राधिकरणले जनाएको छ। त्यसअनुसार चपली–देवीघाट र बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ।
प्राधिकरणले उपलब्ध सबै वैकल्पिक प्राविधिक उपाय परिचालन गरी बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनःस्थापना गर्ने प्रयास जारी रहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0