प्रेस काउन्सिलको विज्ञप्तिप्रति पत्रकार महासंघको आपत्ति, व्यक्ति लक्षित विज्ञप्ति फिर्ता लिन माग

Sep 30, 2026 - 16:14
 0  7
प्रेस काउन्सिलको विज्ञप्तिप्रति पत्रकार महासंघको आपत्ति, व्यक्ति लक्षित विज्ञप्ति फिर्ता लिन माग

१४ असाेज,काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल नेपालका नाममा जारी भएको व्यक्ति लक्षित प्रेस विज्ञप्तिप्रति आपत्ति जनाएको छ।

महासंघले लोककल्याणकारी विज्ञापनको रकम आधासम्म कटौती भएपछि समस्यामा परेका देशभरका स्वरोजगारमूलक छापामाध्यमको समस्या समाधानका लागि महासंघ र प्रेस काउन्सिलबीच असोज १३ गते भएको छलफललाई लिएर काउन्सिलका नाममा जारी विज्ञप्तिले आफूलाई गम्भीर बनाएको जनाएको हो।

 महासंघका अनुसार छलफलका क्रममा सामान्य भनाभन भए पनि अन्त्यमा दुवै पक्षबीच हार्दिकतापूर्वक बिदाइ भएको थियो। तर, उक्त घटनालाई अतिरञ्जित गर्दै महासंघका पूर्वकेन्द्रीय लेखा समिति संयोजक दीपक पाण्डेलाई लक्षित गरी काउन्सिलका नाममा विज्ञप्ति जारी गरिएको महासंघको भनाइ छ।

समस्या समाधान गर्ने सहमति भइसकेको अवस्थामा छलफलमा सहभागी नै नभएका काउन्सिलका चार जना बोर्ड सदस्यले संयुक्त हस्ताक्षर गरी एकपक्षीय विज्ञप्ति जारी गर्नुले काउन्सिलको संस्थागत भूमिकामाथि प्रश्न उठेको महासंघले जनाएको छ।

 महासंघले काउन्सिल सञ्चारमाध्यम र पत्रकारको अभिभावकीय तथा सन्तुलनकारी भूमिका निर्वाह गर्ने निकाय भएकाले व्यक्ति लक्षित विज्ञप्तिले काउन्सिलकै प्रतिष्ठामा असर पार्ने बताएको छ।

महासंघको काठमाडौं शाखाले समेत छलफलमा भएको सामान्य नोकझोकलाई अतिरञ्जित गरी सार्वजनिक रूपमा व्यक्ति लक्षित विज्ञप्ति जारी गरिएको जनाएको छ। शाखाको धारणाप्रति केन्द्रीय समितिले ऐक्यबद्धता जनाएको छ।

महासंघले काउन्सिलजस्तो गरिमामय र सन्तुलनकारी निकायका नाममा जारी भएको व्यक्ति लक्षित विज्ञप्ति फिर्ता लिएर वातावरण सहज बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा असोज १४ गते जारी विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0