धादिङमा त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद
१३ भदाै,धादिङ । त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेकाहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको र केही व्यक्तिलाई नियन्त्रणमा लिइएको बताए।
घटनास्थलबाट नगदसमेत फेला परेको उनले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने प्रहरीले छिट्टै आधिकारिक विज्ञप्तिमार्फत विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।
यसअघि धादिङ–१ की राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकालिएको तथा रकम बाँडिएको विषयमा सामाजिक सञ्जालमार्फत निरन्तर आवाज उठाउँदै आएकी थिइन्।
बाढीका कारण बैंकको सेफ नदीले बगाएर ल्याएपछि त्यसलाई तोडेर रकम निकालिएको घटनामा ठूलो संख्यामा मानिस पक्राउ परेपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक अनुसन्धान अघि बढाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0