तेह्रथुमको सिंहवाहिनी मन्दिरबाट चोरी भएको मुकुट टुक्राटुक्रा अवस्थामा बरामद, १७ वर्षीय किशोर नियन्त्रणमा
८ मंसिर,काठमाण्डाैं । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ स्थित सिंहवाहिनी मन्दिरबाट चोरी भएको चाँदीको मुकुट प्रहरीले बरामद गरेको छ।
चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १७ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको छ। गत मंसिर ७ गते दिउँसो मन्दिरमा कोही नभएको मौका छोपी काठको झ्याल निकालेर भित्र प्रवेश गरेका व्यक्तिले करिब ७० तोला चाँदीको मुकुट र ५ तोला चाँदीको सिक्री चोरी गरेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो। सोही क्रममा मंगलबार दिउँसो ३:४५ बजे परिवर्तित नाम म्याङलुङ MBK लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
प्रहरीले अनुसन्धानका क्रममा म्याङलुङ बजारस्थित एक भाँडा पसलबाट टुक्राटुक्रा पारिएको अवस्थामा करिब ४९ तोला ९ लाल चाँदीको मुकुट बरामद गरेको छ।
चोरी भएको चाँदीको सिक्रीसहित अन्य सामग्रीको खोजी भइरहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका किशोरलाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0