चितवनमा अवैध कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ, ठूलो परिमाणमा उपकरण बरामद
१ असाेज,चितवन । चितवनको भरतपुरमा अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भरतपुर महानगरपालिका–२, आँपटारीबाट भारतीय नागरिक २५ वर्षीय कथराम नथिनलाई पक्राउ गरेको हो।
नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा गरिएको अनुसन्धानका क्रममा ती व्यक्ति अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपासका लागि उपकरण तथा सामग्री प्रयोग गरिरहेको खुलेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई आँपटारीस्थित निर्मला विष्टको घरबाट पक्राउ गरिएको हो। उनको साथबाट २६ थान मोबाइल सेट, २ थान ल्यापटप, ७७ थान एनसेल सिमकार्ड, १८ थान नेपाल टेलिकमका सिमकार्ड र ४ थान सीपीयू बरामद गरिएको छ।
त्यस्तै, ६ थान २०-पोर्ट यूएसबी, ३३ थान यूएसबी सेल्युलर मोडेम, ३० थान यूएसबी ओटीजी टु अडियो केबल, एक थान ५-पोर्ट नेटवर्क स्विच, २ थान इन्टरनेट राउटर, एक थान इन्भर्टर, २ थान ब्याट्री तथा विभिन्न प्रकारका डेटा केबलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिविरुद्ध दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा (५) बमोजिमको कसूरमा जिल्ला प्रहरी कार्यालय चितवनबाट थप अनुसन्धान भइरहेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार (२०८३ असोज १ गते) प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0