काठमाडौंमा आजपाले गठन गर्‍यो ‘एआई एलाइन्स’, देशभर विस्तार गर्ने निर्णय

Oct 6, 2026 - 19:44
 0  1
काठमाडौंमा आजपाले गठन गर्‍यो ‘एआई एलाइन्स’, देशभर विस्तार गर्ने निर्णय

२० असाेज,काठमाडौं । आम जनता पार्टी (आजपा)ले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी ज्ञान, सीप र प्रविधिको प्रयोगलाई जनस्तरसम्म विस्तार गर्ने उद्देश्यले ‘एआई एलाइन्स’ गठन गरेको छ।

पार्टीले एलाइन्सलाई प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्ने निर्णयसमेत गरेको छ। काठमाडौंको अनामनगरमा आजपाको जनवर्गीय संगठन विशेष कमिटीका अध्यक्ष लालबाबु मन्सुरीको अध्यक्षतामा बसेको बैठकले एआई एलाइन्स गठन गर्ने निर्णय गरेको हो।

 बैठकले एआईसँग सम्बन्धित गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउँदै देशभर संगठन विस्तार गर्ने निर्णय गरेको आजपा प्रवक्ता सुभाष साहले जानकारी दिए। आजपाका अनुसार एआई एलाइन्सको इन्चार्जमा विजय यादव, सहइन्चार्जमा प्रिन्स साह र संगठन संयोजकमा साइमन साहलाई जिम्मेवारी दिइएको छ।

बैठकमा सहभागी आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले एआईको विश्वव्यापी विकास, विस्तार तथा यसले समाज र अर्थतन्त्रमा पार्न थालेको प्रभावबारे धारणा राखेका थिए। उनले एआई अब सूचना प्रविधिमा मात्र सीमित नरही शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सञ्चार, व्यापार, प्रशासन तथा रोजगारीलगायतका क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने महत्वपूर्ण प्रविधिका रूपमा विकास भइरहेको बताए।

विकसित मुलुकहरू एआईको विकास र प्रयोगमा तीव्र गतिमा अघि बढिरहेका बेला नेपालले पनि यसको सम्भावना पहिचान गर्दै आवश्यक तयारी गर्नुपर्ने बैठकको निष्कर्ष छ। एआईको ज्ञान र प्रविधिबाट नेपालले लाभ लिन नसके प्रविधिको क्षेत्रमा थप पछाडि पर्ने जोखिम रहेको भन्दै अध्यक्ष साहले यसको अध्ययन, प्रयोग र जनचेतनालाई प्राथमिकता दिनुपर्ने बताए।

आजपाका अनुसार एआई एलाइन्स गठनको मुख्य उद्देश्य नेपालमा एआईसम्बन्धी ज्ञान र चेतना विस्तार गर्नु, नयाँ पुस्तालाई प्रविधिसँग जोड्नु तथा एआईको सकारात्मक प्रयोगमार्फत सामाजिक र आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउनु हो।

 एलाइन्सले विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गरी एआईसम्बन्धी प्रशिक्षण, अभिमुखीकरण, अन्तरक्रिया तथा कार्यशाला सञ्चालन गर्ने तयारी गरेको छ। एआईको प्रयोगबाट रोजगारी तथा स्वरोजगार सिर्जना, डिजिटल उद्यमशीलताको प्रवर्द्धन र नयाँ प्रविधिमा आधारित नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विषयलाई समेत प्राथमिकतामा राखिने जनाइएको छ।

त्यस्तै, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार तथा सार्वजनिक सेवामा एआईको व्यावहारिक प्रयोगको सम्भावना पहिचान गरी त्यससम्बन्धी अध्ययन तथा बहस अघि बढाउने योजना रहेको आजपाले जनाएको छ। किसानलाई कृषि सूचना तथा बजार विश्लेषणमा एआईको प्रयोगबारे जानकारी गराउनेदेखि विद्यार्थी र युवालाई अध्ययन, अनुसन्धान तथा सिर्जनात्मक क्षेत्रमा एआईको जिम्मेवार प्रयोगतर्फ आकर्षित गर्ने उद्देश्य एलाइन्सले लिएको छ।

एआईबाट प्राप्त हुने अवसरसँगै यसबाट उत्पन्न हुन सक्ने चुनौतीबारे पनि जनचेतना अभिवृद्धि गरिने आजपाले जनाएको छ। गलत सूचना, डीपफेक, व्यक्तिगत गोपनीयता, साइबर सुरक्षा, रोजगारीमा पर्न सक्ने प्रभाव तथा एआईको दुरुपयोगजस्ता विषयमा सार्वजनिक बहस आवश्यक रहेको पार्टीको भनाइ छ।

 एलाइन्सले एआईलाई प्रविधि विज्ञहरूको सीमित विषयमा मात्र नराखी आम नागरिकको पहुँचमा पुर्‍याउने लक्ष्य लिएको छ। त्यसका लागि प्रदेशदेखि स्थानीय तहसम्म एआईमा रुचि राख्ने युवा, विद्यार्थी, प्राविधिक, अनुसन्धानकर्ता तथा उद्यमीलाई संगठित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।

आजपाले एआईलाई भविष्यको मात्र नभई वर्तमानकै महत्वपूर्ण प्रविधि मान्दै यसको ज्ञान, सीप र प्रयोगलाई राष्ट्रिय विकास, रोजगारी सिर्जना तथा आर्थिक रूपान्तरणसँग जोड्ने अभियानका रूपमा एआई एलाइन्सलाई अघि बढाउने जनाएको छ।

बैठकमा आजपा अध्यक्ष प्रभु साह, सहअध्यक्ष तिलक थापा मगर, उपाध्यक्ष धनमकुमारी मगर, महासचिव त्रिभुवन साह, उपमहासचिव लालबाबु मन्सुरी र रन्जुकुमारी साह, सचिव विजय यादव, सहसचिव श्रीभगवान पटेल, विदेश विभाग प्रमुख बालकृष्ण सापकोटालगायत विभिन्न जनवर्गीय संगठनका इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्षहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0