होर्मुज जलडमरूमध्य बन्द, साउदीको तेल पाइपलाइन पनि ठप्प; पेट्रोल–डिजेलको मूल्य बढ्ने जोखिम

Sep 14, 2026 - 15:16
 0  4
होर्मुज जलडमरूमध्य बन्द, साउदीको तेल पाइपलाइन पनि ठप्प; पेट्रोल–डिजेलको मूल्य बढ्ने जोखिम

२९ भदाै,काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावका कारण विश्व बजारमा तेल आपूर्तिलाई लिएर चिन्ता थपिएको छ। इरान र खाडी देशहरूबीच सोमबार हुने भनिएको महत्वपूर्ण क्षेत्रीय बैठक स्थगित भएपछि तनाव कम हुने अपेक्षा कमजोर बनेको हो।

ओमानका विदेशमन्त्री सैयद बद्र अल-बुसैदीले आपसी सहमति कायम गर्न थप समय आवश्यक परेकाले बैठक स्थगित गरिएको जानकारी दिएका छन्। बैठकमा होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजका लागि नियम तय गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको थियो। यसैबीच, तेल आपूर्तिका लागि महत्वपूर्ण दुई मार्गमा जोखिम बढेको छ।

साउदी अरबले ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको आफ्नो करिब १ हजार २ सय किलोमिटर लामो ‘पूर्व–पश्चिम’ तेल पाइपलाइन बन्द गरेको छ। यो पाइपलाइनले होर्मुज जलडमरूमध्यलाई छल्दै लाल सागरमार्फत तेल निर्यात गर्न महत्वपूर्ण भूमिका खेल्छ।

पाइपलाइन लामो समय बन्द रहे विश्वको करिब ४ प्रतिशत तेल आपूर्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ। यान्बु बन्दरगाहमा भने करिब ५ देखि ७ दिनसम्म निर्यात धान्न सक्ने परिमाणमा तेल मौज्दात रहेको बताइएको छ। त्यसैगरी, विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्यमा पनि जहाजमाथि आक्रमणका घटना सार्वजनिक भएका छन्।

बेलायती समुद्री सुरक्षा निकाय यूकेएमटीओका अनुसार आइतबार होर्मुज हुँदै यात्रा गरिरहेको एक जहाजमाथि आक्रमण हुँदा आगलागी भएको थियो। चालक दलका सदस्यलाई जहाजबाट बाहिर निकालिएको बताइएको छ। इरानले पनि आफ्नो तट नजिकै व्यावसायिक जहाजमाथि आक्रमण भएको जनाएको छ।

 उक्त घटनामा एक जनाको मृत्यु र चार जना घाइते भएको इरानी पक्षको दाबी छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले आफ्ना माग पूरा नगरेसम्म होर्मुज जलडमरूमध्य पुनः नखोल्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको युद्ध यसै वर्ष अन्त्य हुन सक्ने आशा व्यक्त गर्दै युद्ध अन्त्य भएपछि अमेरिकामा पेट्रोलको मूल्य घट्न सक्ने दाबी गरेका छन्।

 हूतीका आक्रमणले थप जोखिम यमनमा इरान समर्थित हूती विद्रोहीका आक्रमणसमेत जारी छन्। साउदी अरबको दक्षिणी जाजान क्षेत्रमा आक्रमणबाट घर तथा मस्जिदमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ। हूती विद्रोहीले साउदी अरबको सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गर्नुका साथै लाल सागरको प्रवेशद्वारनजिक रहेको पेरिम द्वीप आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन्। पेरिम द्वीप बाब अल–मन्देब जलडमरूमध्यनजिकै रहेको छ, जुन अन्तर्राष्ट्रिय व्यापारिक जहाजका लागि महत्वपूर्ण जलमार्ग हो।

 मध्यपूर्वमा बढ्दो तनावका कारण अमेरिका र खाडी मुलुकसमेत कठिन अवस्थामा पुगेका छन्। साउदी अरबलाई सहयोग गर्दा यमनमा प्रत्यक्ष सैन्य संलग्नता बढ्ने जोखिम छ भने समुद्री व्यापार तथा तेल आपूर्तिको सुरक्षा कायम गर्नु अर्को चुनौती बनेको छ। साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको फोनवार्तामा हूतीविरुद्ध सैन्य सहयोग मागेको बताइएको छ।

तर अमेरिकाले तत्काल सैन्य सहयोगको सट्टा गुप्तचर सूचना उपलब्ध गराउने प्रस्ताव गरेको जनाइएको छ। नेपालमा पनि पर्न सक्छ असर होर्मुज जलडमरूमध्य र साउदीको वैकल्पिक तेल मार्ग लामो समय अवरुद्ध भए विश्व बजारमा कच्चा तेलको आपूर्ति घट्न सक्छ। त्यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाउने र त्यसको असर पेट्रोल तथा डिजेलको मूल्यमा समेत पर्न सक्ने जोखिम रहेको छ।

नेपालले पेट्रोलियम पदार्थको ठूलो हिस्सा आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र ढुवानी लागत बढे त्यसको अप्रत्यक्ष प्रभाव नेपाली उपभोक्तामाथि पनि पर्न सक्छ।

 यद्यपि नेपालमा पेट्रोल–डिजेलको मूल्य कति बढ्छ भन्ने कुरा अन्तर्राष्ट्रिय मूल्य, आपूर्ति अवस्था र नेपाल आयल निगमको मूल्य समायोजनमा निर्भर हुनेछ। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0