सुनसरीमा अविरल वर्षापछि सप्तकोशीमा पानीको बहाव बढ्दो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

Sep 25, 2026 - 15:04
 0  2
सुनसरीमा अविरल वर्षापछि सप्तकोशीमा पानीको बहाव बढ्दो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

९ असाेज सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् ।

कोशी ब्यारेजमा अहिले ‘रेड अलर्ट’को अवस्था रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार ब्यारेजमा २ लाख ४० हजार क्युसेक बाढी मापन भएको छ ।

 सीडीओ अर्यालका अनुसार अघिल्ला वर्षमा कोशीमा ५ लाख क्युसेकभन्दा माथिसम्म बाढी मापन भएको थियो । अहिले रेड अलर्ट जारी भए पनि तत्काल आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।

‘कोशी ब्यारेजमा अहिले रेड अलर्टको अवस्था छ । यद्यपि अघिल्ला वर्षहरूमा ५ लाख क्युसेकसम्म बाढी मापन भएको थियो,’ उनले भने, ‘आत्तिनुपर्ने अवस्था चाहिँ छैन । तर, हामी अलर्टमा छौं ।’ अहिले कोशी पुल भएर चल्ने सवारीसाधनको आवागमन भने रोकिएको छैन ।

बाढीको बहाव थप बढे आवश्यकताअनुसार सवारीसाधनको आवागमनबारे निर्णय गरिने सीडीओ अर्यालले बताए । यसैबीच, जल तथा मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0